Logo

डेंगुको डरलाग्दो अवस्था , नियन्त्रण बाहिर जाने खतरा

देश प्रदेश समाचारदाता ३१ भाद्र २०७९, शुक्रबार १०:०९ मा प्रकाशित

काठमाडौं डेंगुको संक्रमण देशभर फैलिएर नियन्त्रण भन्दा बाहिर जाने खतरा बढेको छ । सरकारी अस्पताल पुगेका बिरामीको संख्या मात्र हेर्दा पनि साउनयता १२ हजारलाई डेंगु भएको छ भने ११ जनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी‌) का अनुसार उच्च जोखिममा काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रूपन्देही, दाङ, धादिङ, तेह्रथुम, काभ्रेपलाञ्चोक र चितवन जिल्ला छन् । डेंगुले महामारीको रूप लिँदा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ईडीसीडीले रोकथाम र नियन्त्रणका कुनै प्रभावकारी कदम चालेका छैनन् ।
करिब तीन महिनादेखि फैलिएको डेंगुको संक्रमण सरकारको काबुबाहिर गएको घोषणा गर्न समेत सरकारलाई गाह्रो छ । ईडीसीडीका प्रमुख डा. चुम्मन लाल दास भन्छन्, ‘डेंगु संक्रमितको संख्या त बढिरहेको छ । तर अहिले नै नियन्त्रण बाहिर गएको भन्न सकिँदैन ।’

‘लार्भा खोज तथा नष्ट’ अभियानमार्फत डेंगु नियन्त्रणका लागि काम भइरहेको उनको दाबी छ । यो अभियान डेंगु नियन्त्रणका लागि प्रभावकारी अस्त्र हो, तर तीन तहको सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको अधिकारीहरु बताउँछन् ।

‘हामी स्वास्थकर्मी तथा अन्य जिम्मेवार व्यक्तित्वहरू डेंगु संक्रमितको संख्या गनेर बस्यौं,’ सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला भन्छन्, ‘डेंगु नियन्त्रणका लागि व्यवहार परिवर्तन गर्नुको विकल्प छैन ।’
२०१९ मा पनि डेंगुले प्रकोपको रूप लिएको थियो । त्यो समयमा सरकारी तथ्यांक अनुसार १८ हजार संक्रमित भएका थिए । ६ जनाको मृत्यु भएको थियो । ‘अहिले अवस्थालाई हेर्दा डेंगुले प्रकोपको रुप लिइसकेको छ,’ डा. बाँस्तोलाले भने, ‘अझै तीन हप्ता डेंगुको जोखिम छ । अघिल्ला वर्षमा संक्रमित भएका भन्दा बढी संक्रमित हुने निश्चित छ ।’

नेपालमा प्रभावकारी प्रविधि नभित्रिएका कारण पनि डेंगु नियन्त्रणमा समस्या आएको उनको तर्क छ । ‘जबसम्म लामखुट्टे नियन्त्रण गर्न सक्दैनौं, तबसम्म उपचारमा जोड दिँदैमा डेंगु नियन्त्रणमा आउँदैन’, सरुवा रोग विशेषज्ञ डा. बाँस्तोला भन्छन्, ‘डेंगु नियन्त्रणमा मानिसको व्यवहार परिवर्तन हुन आवश्यक छ ।’

अहिले मनसुन सँगसँगै डेंगु तीव्र गतिमा फैलिरहेको छ । बढी पानी संकलन भएका ठाउँमा लामखुट्टेको लागि उपयुक्त वातावरण भएकाले पनि डेंगु बढी, छिटो र तीव्र गतिमा फैलिने विज्ञहरु बताउँछन् ।

डा. बाँस्तोलाका अनुसार लामखुट्टेले फुल पार्न सक्ने घरभित्रका सम्भावित ठाउँ, वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाँडाहरू खोजी–खोजी सफा गर्नुपर्छ । त्यस्तै लामखुट्टेको फुल पनि नष्ट गर्नुपर्दछ ।

‘पानी राख्ने भाँडाहरु जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्नेगरी राम्ररी छोपेर राख्ने साथै पानी जम्नसक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरियो भने डेंगुको प्रकोपलाई रोक्न सकिन्छ,’ डा. बाँस्कोटा भन्छन्, ‘अहिले एडिस लामखुट्टे घर–घरमा छिरेको छ । त्यसकारण लामखुट्टेले फुल पार्नसक्ने सम्भावित घर, विद्यालय र वरपरका पानी जम्ने सबै ठाउँहरू र पानी राख्ने भाँडाहरु खोजी–खोजी सफा गर्नुपर्छ ।’

ईडीसीडीका अधिकारीहरु भने ६० जिल्लाका १३९ स्थानीय तहमा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न बजेट विनियोजन गरेको हिसाब सुनाएर बसेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?