Logo

भद्रपुरकाे बजेट ८३ करोड, ७१ जना सम्मानित

देश प्रदेश समाचारदाता १९ मंसिर २०७८, आईतवार २०:५३ मा प्रकाशित

भद्रपुर  भद्रपुर नगरपालिकाले चालु आर्थिक २०७८-०७९ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगर कार्यपालिकाको आठौँ नगर सभाबाट पारित ८३ करोड, १३ लाख २ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम नगरपालिकाले आइतबार एक समारोहका बिच सार्वजनिक गरेको हो ।

भद्रपुर–६ स्थित कृष्ण द्वैपायन गुरुकुल बेद विद्याश्रमको सभा हलमा आयोजित समारोहमा प्रदेश सांसदहरू गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली र पूर्णसिंह राजवंशीले बजेट, नीति तथा कार्यक्रमको पुस्तक सार्वजनिक गरेका हुन् ।

आर्थिक विकास कार्यक्रमतर्फ ३ करोड ५४ लाख, सामाजिक विकास कार्यक्रमतर्फ २९ करोड ८० लाख ३० हजार, वातावरण तथा विपद् व्यवस्थापन कार्यक्रमतर्फ १ करोड ८४ लाख, संस्थागत विकास, सेवा प्रवाह, सूचना प्रविधि तथा कार्यालय सञ्चालनतर्फ १४ करोड २३ लाख ७२ हजार र पूर्वाधार विकास कार्यक्रमतर्फ ३४ करोड ३२ लाख गरी कुल ८३ करोड, १३ लाख २ हजार रुपैयाँ बराबरको बजेट रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज प्रसाईँले जानकारी दिए ।

नगरपालिकाका मेयर श्रेष्ठको अध्यक्षता तथा प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सांसदहरू श्रीप्रसाद मैनाली, पूर्णसिंह राजवंशी, ओमप्रकाश सरावगी, नगरपालिकाकी उपमेयर चन्द्रमाया श्रेष्ठ, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, माओवादी केन्द्र भद्रपुरका अध्यक्ष शिवकुमार राजभण्डारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नगरपालिकाका सूचना अधिकारी नेत्र घिमिरे र सामाजिक विकास शाखाका प्रमुख जीवनकला राउतले संयुक्त रुपमा गरेका थिए ।

उत्कृष्ट करदाता, स्वास्थ्यकर्मी, नगर प्रहरी, ज्येष्ठ नागरिक, उत्कृष्ट कृषक, सहकारी, सङ्घसंस्था, बाल सञ्जाल ,पत्रकार,पूर्व जनप्रतिनिधि गरी ७१ जनालाई सम्मान गरेको थियाे  ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?