Logo

अस्ताउँदो सूर्यलाइ अघ्र्य

देश प्रदेश समाचारदाता २४ कार्तिक २०७८, बुधबार २०:१८ मा प्रकाशित

भद्रपुर । नेपाल–भारतको सीमावर्ती नाकासँग जोडिएको भद्रपुर नगरपालिका–५ स्थित मेची नदी किनारमा बुधवार बेलुका अस्ताउँदो सूर्यलाइ अघ्र्य दिएर मनाइएको छ
अघिल्लो वर्ष कोरोना महामारीले घर आँगनमै छठ पर्व मनाएका भक्तजनले यो वर्ष मेची नदीमा पर्व मनाउन पाएका हुन् । यसवर्ष स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार छठ पर्व मनाउन अनुमति दिएपछि भद्रपुर नगरपालिकाको सहकार्यमा आयोजक समितिले छठ पर्व मनाएको हो ।
नदी किनारको मसानघाट देखि मेची पुलको मुख्यद्धार हुँदै देवी बस्ती सम्मको करिब डेढ किलोमिटर वारिपारि करिब ५ हजार बढी पूजा स्थल (घाट) निर्माण गरिएको छ । उता मेची नदीमा भारतीय नागरिकले पनि छठ पर्व मनाएका छन् ।
भारतको बङ्गाल तथा विहार गरी दुई वटा राज्यसँग जोडिएको मेची नदीको सीमा क्षेत्रमा मनाइने प्रदेश एककै सबै भन्दा फराकिलो, लामबद्ध छठ पर्व झापा जिल्लाको भद्रपुरको मेची नदीमै मनाइन्छ ।
नदीमा किनारमा बिजुलीबत्ति जडान, दुइटा अस्थायी बाँसे पुल निर्माण, सरसफाइ, खानेपानी व्यवस्थापन, सुरक्षा बिट, स्वागत गेट, हेल्प डेस्क, सूर्य भगवानको मुर्ति स्थल निर्माण गरिएको मैथिल समाजका अध्यक्ष रमेशचन्द्र झाले बताए ।
उता युनिक समूह आफैले घाट निर्माण गरेको छ । समूहले ५ फुट घाटको ५ सयदेखि ७५० रुपैयाँ सम्म लिएको समूहका अध्यक्ष नारद राजवंशीले बताए । गरिब तथा विपन्न परिवारलाई निःशुल्क पनि घाट उपलब्ध गराएको उनको भनाई छ ।
मधेसी समुदाय बाहेक अहिले साझा पर्वको रूपमा पहाडी, मारवाडी, बङ्गाली, राजवंशी, लगायतका समुदायले मेची नदीमा छठ पर्व मनाउँदै आइरहेका छन् । मेची नदीमा छठ हेर्न देशका विभिन्न जिल्ला लगायत भारतबाट पनि हजारौँ भक्तजन आउने गरेकोले यसको छुट्टै महत्त्व र पहिचान रहेको जानकारहरू बताउँछन् ।

छठ पूजा स्थलमा हुन सक्ने सम्भावित आपराधिक तथा उच्छृखंल गतिविधि रोक्न विभिन्न स्थानसहित मेची पुलमाथि पनि प्रहरी परिचालन गरिएको छ । लुटपाट, चोरी तथा बारुदजन्य पटाका नियन्त्रण गर्नेका लागि पैदल गस्ती तथा सादा पोसाकमा पनि प्रहरी परिचालन गरिएको छ । साथै भक्तजनहरूको सुरक्षालाई मध्यनजर गरी छठमा प्रहरी हेल्प डेस्क समेत राखिएको छ ।
कोभिड महामारीका कारण यसबर्ष चिया तथा पानी वितरण गर्ने कार्यमा रोक लगाउने निर्णय भएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर दलकुमार राईले बताए । चिया तथा पानी वितरण गरिने स्थानबाट यसबर्ष स्यानिटाइजर र मास्क वितरण गर्नुपर्ने निर्णय गरिएको उनको भनाई छ ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?