Logo

बिर्तामोड नगरपालिकाले भत्कायो गुणस्तरहीन कालोपत्रे

देश प्रदेश समाचारदाता ११ कार्तिक २०७८, बिहीबार १९:५८ मा प्रकाशित

बिर्तामोड बिर्तामोडको शनिश्चरे रोडदेखि बुधबारे हटिया जाने सडकमा गरिएको रिपेयरिङ कालोपत्रे मापदण्ड अनुसार नभएको भन्दै बिर्तामोड नगरपालिकाले भत्काएको छ ।

बिहीबार विहान नगरप्रमुख ध्रुवकुमार शिवाकोटी,प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालसहितको टोलीले ग्रेडर लगाएर भत्काएको हो । उपभोक्ता समितिमार्फत निर्माण गरिएको करिब ५० मिटर सडकमा गुणस्तरीय काम नभएपछि भत्काइएको हो । गत असोज २३ गते कालोपत्रे गरिएको यो सडक गुणस्तरीय नभएपछि जोत्न बाध्य भएको नगरप्रमुख शिवाकोटीले बताए । उनले यस नगरपालिकाभित्र सडक,पुल,ढल,भवन आदि निर्माणको काम गुणस्तरहीन भेटिएमा यही प्रकारको कार्वाही गर्ने चेतावनी समेत दिए ।
नगरप्रमुख शिवाकोटीले विकास निर्माणका काम गर्दा स्तरीय गर्न सम्बन्धित सबैमा आग्रह पनि गरेका छन् । यस्तै बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाहालले यो सडक निर्माणको काम गुणस्तरीय नभएका कारण जनगुनासो आएपछि भत्काएको बताए । उनले अनुगमनका क्रममा क्वान्टिटी र क्वालिटी दुवै नपाएकोले पुनः निर्माणको लागि ग्रेडर लगाएर भत्काएको बताए ।

बिर्तामोड नगरपालिका ५मा पर्ने यो सडकसंगै अदुवा खोला नजिकै बिर्तामोड १ र ५को सिमाना, एभरेष्ट बैंक उत्तर कनकाई रोडसम्म,हिकोला रोड अग्रशेन भवनदेखि सुव्वा चोकसम्म,हिमालय धर्मकाटा रोड बिर्तामोड बसपार्क छिर्ने सडक हुँदै अर्जुनधारा ११ को सिमानासम्म र इलाका प्रहरी कार्यालय अनारमनी हुँदै कञ्चनजंघा रोड रिपेयरिङका लागि सडक बोर्डबाट ३५ लाख रुपैयाँ छुट्टिएको वडा नम्बर ५का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले जानकारी दिए ।

सडकको कालोपत्रे ४ इन्चसम्मको हुनु पर्नेमा कम भएका कारण गुणस्तरीय बन्न नसकेको सडक उपभोक्ता समितिका अध्यक्ष अम्बिका लिङ्देनले स्वीकार गरे । उनले यो भत्काइएको सडक मौसमको अनुकुलतालाई ख्याल गरेर तिहारपछि मात्रै निर्माण गरिने बताए । लिङ्देन बिर्तामोड ५का रिपेयरिङ कालोपत्रे गर्ने सबै सडकको उपभोक्ता समिति अध्यक्ष रहेको जनाइएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?