Logo

काँग्रेसको पालिका तहको निर्वाचन तयारी पूरा

देश प्रदेश समाचारदाता ७ आश्विन २०७८, बिहीबार १३:५२ मा प्रकाशित

बिर्तामोड । एकसय ३१ वटै वडामा निर्वाचन सम्पन्न भएसँगै झापाका पालिका तहको निर्वाचनका लागि नेपाली काँग्रेस र जिल्ला निर्वाचन समिति झापाले सम्पूर्ण तयारी पूरा गरेको छ ।

यही असोज ९ गते हुने पालिका तहको निर्वाचनका लागि झापाका १५ वटै पालिकामा तोकिएका मतदान अधिकृतलाई पार्टीको विधान, निर्वाचन निर्देशिका र अनुसूचीहरुबारे बिहीबार प्रशिक्षण दिइएको छ । नेपाली काँग्रेस झापाका सभापति एवं कार्यक्रमका सभापति उद्धव थापाले निर्विवाद रुपमा वडा अधिवेशन सम्पन्न गर्ने वडा तहका सम्पूर्ण मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई धन्यवाद दिँदै पालिका तहको निर्वाचन पनि स्वच्छ, पारदर्शी, निश्पक्ष र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न आग्रह गरे । क्रियाशील सदस्यता वितरण र वडा तहको निर्वाचन शान्तिपूर्ण रुपमा भएपछि सबै जिल्ला एवं केन्द्रमा समेत झापा उदाहरणीय बनेको चर्चा गर्दै सभापति थापाले स्वस्थ प्रतिष्पर्धाका लागि सम्पूर्ण नेता कार्यकर्तालाई आह्वान समेत गरे । लोकतान्त्रिक पद्धतिअनुरुप भएको निर्वाचनमा हारजित सामान्य प्रक्रिया भएको भन्दै उनले निर्वाचनपछि पार्टी एकढिक्का हुने विश्वास ब्यक्त गरे ।

प्रशिक्षणका क्रममा पालिका तहको निर्वाचनमा समावेशी सहभागितासम्बन्धी ब्यवस्थासहितको अनुसूची, निर्वाचन निर्देशिका र विधानका विषयमा उठेका सवालहरुको जिल्ला निर्वाचन अधिकृत सुबोधबाबु चिलवालले जवाफ दिएका थिए ।
निर्वाचन सम्पन्न गराउन आफू माध्यम मात्रै भएको बताउँदै जिल्ला निर्वाचन अधिकृत चिलवालले शान्तिपूर्ण, निश्पक्ष र सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न पालिका तहमा खटिएका अधिकृतहरुलाई आग्रह गरे ।
नेपाल शिक्षक संघका अध्यक्ष नेत्र खरेलले सहजीकरण गरेको कार्यक्रममा नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, पूर्व अध्यक्ष कृष्ण हुमागाई, डेमोक्रेटिक लयर्स एसोसिएसन झापाका अध्यक्ष यज्ञप्रसाद अधिकारीलगायतको सहभागिता रहेको थियो ।
यसैबीच पालिका तहको निर्वाचन सम्पन्न गराउन झापाको मेचीनगरमा हरिप्रसाद अधिकारी, अर्जुनधारामा लक्ष्मीप्रसाद शिवाकोटी, बुद्धशान्तिमा बसन्त नेपाल, बिर्तामोडमा नारायणप्रसाद पौडेल, कनकाईमा खगेन्द्र खरेल, हल्दिबारीमा बोधकृष्ण पौडेल, बाह्रदशीमा अमृतबहादुर बुढाथोकी, भद्रपुरमा मञ्जु दाहाल, कचनकवलमा मित्र खनाल, झापामा जगन्नाथ राजवंशी, शिवसताक्षीमा प्रकाश भण्डारी, कमलमा कुमार खतिवडा, दमकमा बबुवान दाहाल, गौरादहमा सुरेशकुमार पोखरेल, र गौरीगञ्जमा गोविन्द घिमिरेलाई मतदान अधिकृत तोकिएको छ ।
निर्वाचन कार्यतालिका अनुसार मतदान अधिकृत र सहायक अधिकृतहरुले असोज ८ गते निर्वाचनस्थल तय एवं ब्यवस्थापन गर्नेछन् भने ९ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन, १२ देखि २ बजेसम्म उम्मेद्वारी दर्ता, २ बजेदेखि २ः३० उम्मेद्वारमाथि दावीविरोध, ३ बजे उम्मेद्वारको नामावली प्रकाशन , ३ बजेदेखि ६ बजेसम्म उम्मेद्वारी फिर्ता र ६ः३० बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरिएको छ ।
यसैगरी असोज १० गते बिहान ८ बजेदेखि १ बजेसम्म मतदान र मतदान सम्पन्न भएलगत्तै मतगणनाको समयतालिका तय गरिएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?