Logo

भारतीय महिलालाई हत्या गरेको आरोपमा एक भारतीय सहित चार जना पक्राउ

देश प्रदेश समाचारदाता ६ आश्विन २०७८, बुधबार १९:२६ मा प्रकाशित

भद्रपुर । एक भारतीय महिलालाई टुक्रा–टुक्रा पारी हत्या गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ ।
धारिलो हतियार (दाउ) ले काटेर हत्या गरेको आरोपमा प्रहरीले भारत विहार राज्य किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ वर्षीय ऐतवार सोरेन, झापा गाउँपालिका– १ का ३७ वर्षीय लखन टुडु, सोही ठाउँका ५६ वर्षीय सिरी साइँला भन्ने सोमाई हेमरम र २७ वर्षीय श्री हेमरम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आरोपितलाइ प्रहरीले बुधबार दिउँसो प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

घटनामा संलग्न मृतकका देवर किशनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने अन्दाजी ४५ वर्षीय मण्डल हेमरम भने फरार रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

गत भदौ २५ दिउँसो साढे १२ बजे झापा गाउँपालिका १ स्थित सानो माई खोलामा नाम थर वतन नखुलेको एक महिलाको टाउको, घाटी, पेट (कम्मर भन्दा माथिको भाग) तथा घुँडा भन्दा मुनीको भाग नभएको शव फेला परेको थियो । घटनाको प्रकृति हेर्दा हत्या गरी फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएपछि महिलाको पहिचानका लागि प्रहरी टोली परिचालन गरेको प्रहरीकाे भनाइ छ । शव भेटिएको ५ दिनपछि महिलाको हत्या गरिएको सूचना प्रहरीमा आएको डिएसपी थापाको भनाइ छ ।

हत्या गरिएका महिला झापा गाउँपालिका– १ माइती घर भई हाल किशनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने अन्दाजी ५५ वर्षीय डोली भन्ने धोन्नी टुडु पहिचान खुलेको एसपी सानुराम भट्टराईले बताए । मृतक डोलीको सन्तान नभएको र उनको श्रीमानको १५ दिन अघि मात्र मृत्यु भएको थियो । मृतक महिलाको सौता रहेकोले सौताले विभिन्न आरोप लगाई हेला गर्ने गरेको र बोक्सीको आरोप लगाउँदै आएको प्रहरीले जनाएको छ ।

घटनामा मृतक महिलाकी सौताकी भाइ लखन, भान्जा ऐतवार र देवर मण्डल प्रत्यक्ष संलग्न देखिएको उनले बताए ।
पक्राउ परेका चारै जनालाई झापा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?