Logo

पेट्रोलियम पर्दाथकाे तस्करीमा नयाँ तरिका अपनाउदै

देश प्रदेश समाचारदाता २२ भाद्र २०७८, मंगलवार १४:१६ मा प्रकाशित

झापा  नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थकाे मूल्य बढिभएकाे कारणले नेपालबाट नयाँ तरिकाले भारत तिर पेट्रोलियम पदार्थकाे तस्करी भईरहेकाे रहस्य खुलेकाे छ । भारतबाट नेपाल आउने मालवाहक सवारी साधनले छुट्टै ट्यांकी जडान गरी नेपालबाट पेट्रोलियम पदार्थ भारत लैजाने गरेको रहस्य खुलेकाे हाे ।काँकडभिट्टा नाकाबाट सोमबार बिहान ९ बजे नेपाली सामान ढुवानीका लागि भारतीय नम्बर प्लेटको डब्लुबी ७३ डी २४४१ नम्बरको खाली मिनी ट्रक नेपाल प्रवेश गरेको थियो । त्यसपछि सो मिनी ट्रक  धुलाबारीतर्फ लाग्यो । धुलाबारीबाट सामान लोड नगरी त्यतिकै फर्किएकाे सो ट्रकले मेचीनगर–६ स्थित पूर्वाञ्चल पेट्रोल पम्पबाट ट्रकमा ५५० लिटर डिजेल हालेकाे थियाे ट्रकमा रहेको डिजेल ट्यांकी नहालेर उनीहरूले छुट्टै जडान गरिएको ट्यांकीमा सो डिजेल हालेका थिए ।डिजेल हालेर पुनः काँकडभिट्टा नाकाबाट भारत जान लागेका ट्रकलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोली सोमबार दिउँसो २ बजे मेची पुल नजिकै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । नियन्त्रणमा लिएर ट्रकलाई चेकजाँच गर्दा ट्रकमा एउटा छुट्टै ट्यांकी जडान गरेको र सो ट्यांकीमा ५५० लिटर डिजेल बरामद गरिएको डिएसपी थापाले बताए ।ट्रकसहित चालक र सहचालकलाई ७ लाख मूल्याङ्कन तोकेर सोमबार नै मेची भन्सार कार्यालय बुझाइसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले जानकारी दिए । पश्चिम बङ्गालमा डिजेलको मूल्य भारतीय ९१ रुपैयाँ ७१ पैसा अर्थात् नेपाली १४६ रुपैयाँ ७३ पैसा पर्छ । झापामा डिजेलको मूल्य १११ रुपैयाँ ५० पैसा पर्छ । पश्चिम बङ्गालभन्दा झापामा डिजेलको मूल्य ३५ रुपैयाँ ३१ पैसा सस्तो छ । ट्रक चालकले ५५० लिटर डिजेल भारत लगेबापत १९ हजार ३७९ रुपैयाँ कमाउन पाउँथे । यसरी दैनिक भारतबाट नेपाल प्रवेश गर्ने भारतीय मालवाहक गाडीले नेपालबाट पेट्रोलियम पदार्थ बोकेर लगेपनि पक्राउ परेको यो पहिलो पटक भएको बताइएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?