Logo

यस्तो छ कुशीओैंशीकाे महत्त्व

देश प्रदेश समाचारदाता २२ भाद्र २०७८, मंगलवार ०७:४४ मा प्रकाशित

भद्रपुर ।  वैदिकसनातन धर्ममा भाद्रकृष्ण अमावास्य तिथिलाई ´कुशे औँशी` का रुपमा वर्णन गरिएको पाईन्छ । यस दिन नेपाली समाजमा ´बुवाको मुख हेर्ने ` दिनका रुपमा समेत प्रसिद्ध छ । यस दिन सनातनधर्मावलम्बीहरुको जन्मेदेखी मरणपर्यन्तका प्रत्येक धार्मिक कार्यक्रममा अनिवार्य रूपमा चाहिने पवित्र दर्भ यानिकी कुशलाई मन्त्रपूर्वक छेदन गरि घरघरमा राखिने गरिन्छ । यस दिन पिता हुनेहरुले पिताको सम्मानको लागी आकस्यकतानुसार फलफूल, मिठाई, लत्ताकपडा र दक्षिणा राखी पिताको मुख हेर्ने, अनि दक्षिणा भेटीद्वारा ढोगभेट गर्ने, पिताप्रती कृतज्ञता प्रकट गर्ने र आदर दर्शाउने काम गरिन्छ । पिता नहुनेहरुले तीर्थमा गयी या घरैमा पितृको तृप्तिको लागी चन्दन, अक्षता, फूल, तिल, जौ, कुश इत्यादिद्वारा पितृको पुजा तर्पण गरि सिधादान गर्ने चलन छ ।

कुशे औँशी र पिताको मुख हेर्ने यस पर्वका सन्दर्भमा केही शास्त्रीय प्रसङ्गलाई उल्लेख गरिन्छ । हरेक महिनाका दुई पक्ष हुन्छन् – कृष्ण र शुक्ल । शुक्लपक्ष देवोपासनका लागि प्रयोग गरिन्छ भने कृष्णपक्ष पितृ उपासनाको लागी । औँशीको दिन चन्द्रमा र सुर्य सङ्गमस्थलमा रहन्छ्न । त्यसैले यो दिन अरुभन्दा बेग्लै र बढी महत्वपूर्ण मानिनु स्वभाविकै छ । त्यसमा पनि कतिपय महिनाका औँशीले अझ बढी महत्व राखेका हुन्छन् । भाद्रकृष्णको औँशी तिथि त्यस्तै बढी महत्व राख्ने भनिएको छ । यसरी यस तिथिलाई विशेष मानिनुमा तीन प्रमुख कारण छन् । पहिलो – यस दिन वर्षभरि धार्मिक कार्यमा प्रयोग गर्नका लागि कुशको उच्छेदन गर्ने कार्य गरिन्छ । दोस्रो – गोकर्ण तीर्थमा स्नान गरी दिवङ्गत पितृको मुक्तिका लागि तर्पण श्राद्ध वा सिदादान गरिन्छ । तेस्रो – यसदिन पिताको खुसी र सम्मानका लागि छोराछोरीले विभिन्न उपहारसहित पिताको मुख हेर्ने गर्दछन् । वैदिकसनातन विधिअनुसार हरेक देवकार्य, पितृकार्य, संस्कारकृत्य इत्यादि सम्पन्न गरिँदा सुरुमै एक वनस्पतिको जरुरत पर्दछ जसलाई ´कुश` भनिन्छ । अनेक प्रकारका कार्यमा प्रयोग गरिने कुशको रोप्ने र काट्ने पनि निश्चित तिथि र विधि छ । त्यसअनुसार रोप्नका लागि श्रावण शुक्ल चतुर्दशी निर्धारित छ भने काट्नका लागि भाद्रकृष्ण औंशी । यस हिसाबले आजको औंसी तिथिलाई कुशे औंशीको रुपमा मानिन्छ । सनातन धर्मावलम्बीहरूको प्रत्येक संस्कारकृत्यमा अनिवार्य रूपमा प्रयोग हुने कुशबारे अब केही छोटो चर्चा गरौं । वैदिक धर्म संस्कृतिको सुरु या प्रारम्भमा पूर्व तयारीका सन्दर्भमा भनिएको छ । स्नाने दाने जपे होमे स्वाध्याये पितृकर्मणि । करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।

अर्थ = स्नान, दान, जप, होम, स्वाध्याय, पितृकर्म, सन्ध्याबन्धन तथा अभिवादन गर्दा दुवै हात कुशयुक्त हुनुपर्दछ । यस कथनले हाम्रो धार्मिक कार्यमा तृणरुप भएपनि कुशको प्रयोगलाई कति महत्त्व दिएको रहेछ स्वत: बुझ्न सकिन्छ । कुनैपनि धार्मिक कर्यमा चाहे सन्ध्या वन्दन होस् वा देवपूजन, यज्ञयादि होस् वा विवाह व्रतबन्ध आदि संस्कार कर्म, ती सबै नै कुशको आसनमाथि बसेर गरिन्छ । त्यतिमात्र होइन कुनैपनि देवकर्म वा पितृकर्मको सुरुमा कर्मपात्र बनाई सकेपछि पवित्र आकारमा बनाएको कुशको औंठी धारण गर्ने विधि-विधान छ । पवित्र गाँठो पारेको औँठी देवकार्यमा साहिँली औँलामा र पितृकार्यमा तर्जनी औँलामा लगाउने गरिन्छ । शरीर शुद्धिका लागि गरिने गाई वा गोनिष्कृय रुप द्रव्यदान गर्दा पनि तिल, जौको साथ कुशको प्रयोग आवश्यकता हुन्छ । कर्मपात्र निर्माण गर्दा कुशनिर्मित पवित्र कर्मपात्रमा हाल्नुपर्छ भने पवित्रताका लागि जल छर्कदा पनि कुशको प्रयोग गरिन्छ । अग्निस्थापना विधि सम्पन्न गरिँदा वेदी वरिपरि कुश बिछ्याउनु पर्दछ जसलाई ´बर्हिस्तरण` भनिन्छ । यसैगरी यज्ञमा ब्रह्मा, विष्णु, प्रजापति, उपयमन विष्टर आदिको निर्माण पनि कुशद्वारा नै हुन्छ । ऋषि पञ्चमीको दिन नारीहरुले अरुन्धतीसहित सप्तर्षिको पूजा कुशकै टुक्रालाई प्रतीक मानी पूजा गर्दछन् । आवाहन गरिएका देवतालाई आसन दिँदा पनि कुशकै टुक्रा अर्पण गरिन्छ । यसैगरी पितृकार्य, श्राद्ध आदिमा कुशबाट तयार पारिएको ब्राह्मणलाई नै दुनामा चामल राखेर त्यसमाथि स्थापना गरी पूजा गरिन्छ । पिण्डदानको वेदि र त्यसको दुवैतिर पनि कुश विछ्याउने शास्त्रीय विधि छ । पञ्चक परेको बेला मानिसको मृत्यु भयो भने त्यसको दोष निवारणपूर्वक शान्तिका लागि अन्यवस्तुको साथ कुशद्वारा तयार पारिएको चार पुत्ला लासको साथ जलाइन्छ । प्राण अन्त हुन लागेको बेला पनि कुश, तिल र तुलसी नजिक राखिन्छ । यी कतिपय उदाहरणहरुबाट कुशको उपयोग हाम्रो धार्मिक कार्यमा कति व्यापक रुपमा हुने गरेको रहेछ स्वतः अनुमान गर्न सकिन्छ । यसरी धार्मिक एवं संस्कारको क्षेत्रमा बहुविध रुपले प्रयोग हुने र आवश्यकता मानिने कुशको उत्पत्ति कहिले भयो होला भनेर जान्न खोज्दा सृष्टिकर्ता ब्रह्माजीसँगै यसको उत्पत्ति भएको कुरा पौराणिक साहित्यमा उल्लेख भएको पाइन्छ । आजको दिन कुश काढ्दा भन्ने मन्त्रले पनि यसै कुराको संकेत गर्दछ । विरञ्चिना सहोत्पन्ना परमेष्ठिनिसर्गज: । नुदसर्वाणि पापानि दर्भ स्वस्तिकरोभव ।। ॐ फट् स्वाहा अर्को कथनअनुसार भगवान विष्णुको रौँबाट कुशको उत्पत्ति भएको हो ।

पौराणिक कथनअनुसार भगवान् विष्णुले पृथ्वीको उद्धारकालागि बराह अवतार लिएको बेला बलशाली कश्यपपुत्र हिरण्याक्षसित लामो युद्ध गर्नुभयो । लामो समयसम्म सङ्ग्राम गरि हिरण्याक्षबध गरेपछि भगवानलाई श्रमको अनुभव भयो । यसैक्रममा विश्रामका लागि समुद्र किनारमा एक्छिन आरम गर्दा भगवान विष्णुका शरीरबाट बालुवामा रौँ झर्न पुगे । झर्न गएका तिनै रौंबाट कुश र अन्य तृणहरु पैदा भए । यो कुराको संकेत श्रीमद्भागवत तृतीय स्कन्धको तेह्रौं अध्यायमा ऋषिहरुले गरेको बराह अवतारको स्तुतिको क्रममा उल्लेख भएको छ । त्यहाँ भगवान वराहका प्रत्येक अङ्गको तुलना यज्ञपात्रसँग गरिएको छ र शरीरलाई पनि यज्ञसितै तुलना गरी यज्ञवराह भनिएको छ । त्यसो हुँदा कुशकाे उत्पत्ति पनि उहाँबाटै हुनु र पवित्र मानिनु पनि स्वाभाविकै देखिन्छ । ब्रह्माजी सँगै उत्पन्न हुने कुशमा सम्पूर्ण पाप नाश गर्ने सक्ती छ । त्यतिमात्र नभई देवराज इन्द्र, पालनकर्ता विष्णु, र संहारकर्ता शिवले क्रमशः वज्र, सुदर्शनचक्र र त्रिशुलबाट जे जति काम लिन सक्छन् पवित्र धारणाबाट ब्रह्माले पनि त्यतिनै सुरक्षा अनुभव गर्न सक्छन् भनिएको छ । यथा वज्रं सुरेन्द्रस्य तथाचक्रं हरेस्तथा । त्रिशूलं च त्रिनेत्रस्य तथा विप्रपवित्रकम् ।। अर्को कथनअनुसार प्राचिनकालमा जालंधर नाम गरेको दैत्यलाई संहार गरी लोकसंरक्षण गर्न आवश्यक भएको भए तापनि उसकि पत्नी वृन्दा उच्चकोटिकि सती भएकीले सतीधर्मको कारण जालन्धरलाई मार्न असम्भव भएको थियो । त्यसैबेला विष्णुले छल गरी जालंधरको रुप धारण गरी सतीवृन्दाको सतित्व हरण गरेपछि भगवान् शिवबाट जालंधर मृत्यु हुनपुग्यो । यस कार्यबाट क्रुद्ध र खिन्न बनेकी वृन्दाले विष्णुलाई घाँस, झार, रुख, ढुङ्गा हुनुपर्ने चारवटा श्रापदिईन् । सतीले दिएको श्राप भएकोले विष्णुलाई त्यो श्राप लाग्यो ।

त्यसैको प्रतिफल स्वरुप विष्णुलाई झारपातमा तुलसी, वृक्षरुपमा पीपल, शिलारुपमा शालिग्राम र घाँसरुपमा कुश हुनुपरेको हो । यसबाट पनि कुशको सम्बन्ध विष्णुसितै देखिन्छ । अतः देवपितृकार्यमा कुशको प्रयोग हुनु स्वभाविक मानिन्छ । कुशेऔँशिको दिन पुरोहित या अन्य ब्राह्मणहरु बिहान उठी शौच, स्नान, सन्ध्याबन्धन पश्चात् कुशको घारीमा गई मन्त्र उच्चारणपूर्वक पूर्वतर्फ फर्केर कुश काट्दछन् । त्यसपछि कुशका मुठा घरमा भित्र्याउनुका साथै यजमान कहाँ समेत लिएर जान्छन् र घरको मुली व्यक्तिलाई त्यो दिन्छन् । मुली व्यक्तिले पनि आफूपछि घरका अन्य परिवारलाई कुश छुन अन्त्यमा पवित्र ठाउँमा सुरक्षित राख्दछन् । अन्त्यमा कुश ल्याउने ब्राह्मणलाई टिका लगायत दक्षिणा, सीधा आदि दान गरिन्छ । कुशे औंसीका दिन कुशच्छेदन र भित्र्याउने सम्बन्धमा गरिने सामन्य विधि यही नै रहेको छ । अस्तु श्री हरि:लेखक -राजेन पाैडेल


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?