Logo

आमाको स्मृतिमा पत्रकार प्रसाईद्वारा पत्रकार उपचार कोषलाई सहयोग

देश प्रदेश समाचारदाता ९ भाद्र २०७८, बुधबार ०८:३१ मा प्रकाशित

विर्तामोड । झापाका एक पत्रकारले आफ्नाे आमाकाे स्मृतिमा पत्रकार सहारा उपचार कोषलाई नगद रकम दिएर सहयोग गरेका छन्।

नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति कोषाध्यक्ष रञ्जित प्रसाईले पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । प्रसाईंले आमा दमन्तादेवीको ११ औं वार्षिक पुण्य तिथिका दिन मंगलबार पत्रकार उपचार कोषका लागि महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीसहितको टोलीलाई उक्त रकम प्रदान गरेका हुन् ।

आँगन एफएम बिर्तामोडका स्टेशन मेनेजर बिर्तामोड ७ गरामनी निवासी प्रसाईं डेढ दशकदेखि पत्रकारितामा क्रियाशील छन् । झापाली पत्रकारहरुको दिगो हितमा योगदान गर्न आफूले रकम प्रदान गरेको उनले बताएका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ  प्रदेश १ का सदस्य सुरेन्द्र भण्डारी, झापा शाखाका उपाध्यक्ष केशव भट्टराई, कार्यसमिति सदस्यहरु रञ्जित परियार, बिनोद पाण्डेको सहभागिता थियो ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पुर्‍याउने  लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हाल ४५ लाख रुपैयाँ जम्मा भइसकेको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ । आफूले झैं अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृको स्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने पत्रकार प्रसाईंले बताएका छन् ।

महासंघ झापा शाखाले संघ–संस्था, सहकारी, बैंक, दाता सबै क्षेत्रलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ । उपचार  कोषको सदस्यता नलिएका सबै पत्रकारलाई तत्काल कोषको सदस्यता लिन पनि महासंघले आह्वान गरेकोे छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?