Logo

आदिवासी रंगशाला बनाउन पहल

देश प्रदेश समाचारदाता २ श्रावण २०७८, शनिबार १८:१० मा प्रकाशित

दमक । केही बर्षदेखि निर्माणका क्रममा रोकिएको झापाको कमल गाउँपालिका ५ स्थित आदिवासी रंगशालाको निर्माणका लागि फेरि पहल थालिने भएको छ ।

रंगशाला समितिले शनिवार मंगलवारेमा स्थानीय सरोकारवाला तथा दलहरुसंग अन्तरकृया गरी रोकिएको रंगशालाको कामलाई तीव्रता दिने निर्णय गरेको रंगशालाका महासचिव दिपेनवाला राईले बताए ।
तत्कालीन एमाले नेतृत्वको सरकारले रंगशालाका कामलाई ओझेलमा पारेर रंगशाला निर्माणमा चासो नदिएको भन्दै सहभागीहरुले अब सरकारको नेतृत्व फेरिएसंगै रंगशालाको कामलाई तीव्रता दिनुपर्ने जोड दिए ।

उनीहरुले रंगशालाको कामलाई छिटोभन्दा छिटो अगाडी बढाउन सरकारसंग माग गर्ने, नभए जनस्तरवाट आवश्यक प्रकृया अघि बढाउनु पर्ने आंैल्याए । ओली सरकार बहिर्गमन भएपछि अब रंगशालाको प्रकृया अघि बढाउन उपयुक्त अवसर भएको र संघीय सरकारमा डेलिकेशन गएर काम अघि बढाउनु पर्ने उनीहरुको जोड छ ।
अन्तरक्रियामा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देउकुमार नेम्बाङ, कांग्रेसका महासमिति सदस्य सुरेश सुब्बा,क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, माओवादी केन्द्र कमलका सचिव रविन गुरुङ, अधिवक्ता बिमल संग्रौला, संघीय लिम्बूवान मञ्च नेपालकी केन्द्रीय सचिव बिष्णु भट्टराई, मञ्चका कमल अध्यक्ष सूर्य योक्पाङदेन, प्याव्सन झापाका उपाध्यक्ष गौरीमान फागोलगायतले पछिल्ला समय ओली सरकारले रंगशलामा राजनीति गर्न खोजेको बताएका थिए । उनीहरुले आदिवासी,जनजातिका करिव ८ सयबढी चिहान भत्काएर त्यस क्षेत्रमा आदिवासी रंगशाला बनाउने सहमतिमाथि ओली सरकारले जालझेल गर्दै आएको बताएका थिए ।

छलफलमा रंगशालाका सल्लाहकारहरु दिलिप राई,नित्यानन्द ताजपुरिया,राजकुमार न्यौपाने, कांग्रेस कमलका सभापति खगेन्द्र भण्डारीलगायतले रंगशाला निर्माणको विषयमा बोलेका थिए । अन्तरक्रियाले रंगशालाका अध्यक्ष हुकुमसिंह राईको नेतृत्वमा दलीय प्रतिनिधिमण्डल काठमाण्डौ जाने निर्णय गरेको छ । रंगशालाको भोगाधिकार र निर्माणका विषयमा आफ्ना माग राखेर प्रधानमन्त्री शेरवहादुर देउवा,अर्थमन्त्री जनार्दन शर्मालगायतका उच्च अधिकारीहरुसंग भेटघाट गर्ने अध्यक्ष राईले बताए । करिव ३८ विगाह क्षेत्रफल रहेको रंगशालामा दशक अघिसम्म सरकारले पटकपटक वजेट विनियोजन गरी संरचनाका आधारभूत काम गरेको थियो । तर पाँच वर्षयता नामको विवादले रंगशाला लथालिंग हुन पुगेको छ । ओली सरकारले आदिवासीको नाम हटाएर मदन भण्डारी रंगशालाको नाममा नै वजेट छुटयाएपछि काम हुन नसक्दा दुई आर्थिक बर्षका बजेट फ्रिज भएको थियो ।

कमलको रंगशालामा आदिवासी जनजातिको अवरोध भएपछि ओली सरकारले त्यहाँको योजना दमकमा लगेको छ । दमक ३ स्थित हम्सेदुम्से सामुदायिक बनको बन फडानी गरी मदन भण्डारी रंगशाला बनाउने प्रकृया थालेको छ । विकासको नाममा भएका वन सम्पदा मास्न नहुने भन्दै त्यस क्षेत्रका बासिन्दाले पनि त्यहाँ विरोध जनाउँदै आएका छन् ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?